नेकपाकै धेरै मत बिभाजन हुने संकेत कांग्रेसले सहजै परिणाम हात पर्ने आंकलन

पुस १९, दैलेख
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भइरहँदा दैलेखमा पनि सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेसँगै नेकपा विभाजित भइसकेको छ । यसको औपचारिकता अव चुनाव चिन्ह र पार्टीको नामले गर्नेछ । यसका लागि निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने अवस्था छ ।
अहिले अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलि र पूर्व माओवादी तर्फका रामबहादुर थापा लगाएको समूह एकातिर छ भने पुष्पकमल दाहाल प्रचण्ड लगायत पूर्व एमालेका माधव नेपाल समूह अर्कोतर्फ बिभाजित भएको छ ।
अन्य केही शिर्ष नेताहरु बेला बेलामा ओल्लो घर र पल्लो घर जाने आउनेक्रम चलिरहेको छ ।
दुबै समूहमा एक–अर्कोविरुद्ध आरोप–प्रत्यारोप सँगै वडा तहसम्म बिभाजनको रुपरेखा भित्र भित्र कोरीएको छ । यो आरोप–प्रत्यारोप र नेता र कार्यकर्तालाई आफ्नो समूहमा तान्ने खेल दैलेखमा पनि तीव्र भएको छ ।
जिल्लादेखि वडा तहसम्मका नेता कार्यकर्ता विभाजित देखिएका छन् । दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै वडा तहसम्म विरोध कार्यक्रम संचालन गरिरहेका छन् । प्रधानमन्त्री ओली पक्षका मानिएका नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा सहितका ८ जना केन्द्रीय सदस्यहरु पनि जिल्ला आउनेबित्तिकै गाउँ पसेका छन् । ओलि निकटका नेता कार्यकर्ताहरू सरकारको बचाऊमा छन् । दाहाल–नेपाल पक्ष विरुद्धमा निकै डटेर लागिपरेका छन् ।
नेकपाको पक्कड मानिएको दैलेख कमजोर बन्दै
कर्णालीका १० जिल्लामध्ये राजनीतिक हिसाबले दैलेखमा नेकपाको उपस्थिति निकै बलियो मानिन्छ । दुईवटै संघीय निर्वाचन, ४ वटा प्रदेश सभा र ७ वटा स्थानीय पालिकामा निर्वाचन जितेर बर्चश्व कायम गरेको नेकपा अहिलेकै अवस्थामा चुनावमा होमिए कमजोर बन्ने देखिएको छ । दैलेखका ११ स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा नेकपा नेतृत्वकै सरकार छ । दुल्लूमा पनि नगर प्रमुख मात्र पराजयको भएको भएपनि बहुमत नेकपाकै छ ।
आफ्नो पक्ष बलियो
रहेको दावी
११ वटा स्थानीय तह रहेको दैलेखमा नेकपाबाट विभाजित दुवै समूहले आ–आफैँ बलियो रहेको दाबी गर्दै आएका छन् । नेकपा दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओली निकटका नेता रबिन्द्रराज शर्माले दैलेखमा आफ्नो खेमा बलियो रहेको दावी गरे ।
उनले आफू नेकपामै रहेको र जिल्लामा पनि आफ्नो समूह बलियो रहेको बताउँदै प्रचण्ड–माधव समूह निकै कमजोर रहेको बताए । शर्माले भने, ‘आफू गुटमा भन्दा पनि पार्टीमा रहेकाले जिल्लामा नेकपा बलियो रहेको र अब झन् बलियो हुन्छ ।’
यता प्रचण्ड–माधव समूहका नेता तथा प्रदेश सभाका सदस्य अमर बहादुर थापाले दैलेखमा आफ्नो पक्ष बलियो रहेको बताएका छन् । आफ्नो खेमामा कार्यकर्तादेखि स्थानीय तहका प्रमुख, उप–प्रमुख, र वडा तहसम्मका कार्यकर्ताहरुमा बहुमत रहेको उनको दाबी छ । उनले जिल्ला कमिटीका १ सय ४५ जना सदस्यमध्ये १ सय ११ जना माधव–प्रचण्ड समूहमा रहेको जानकारी दिएका छन् ।
माधव नेपाल समूह दैलेखमा पार्टी एकीकरणका
बेलादेखिनै असन्तुष्ट
नेकपा एकिकरण जिल्ला जिल्लामा भएका बेलादेखिनै तत्कालिन माधव नेपाल समूहले भने दैलेखमा असुन्तुष्टि राख्दै समानान्तर कमिटी घोषणा गरेको थियो । उतिवेला समानान्तर घोषणा गरिएको कमिटीमा केही थपघट गर्दै वडा वडा सम्म जिम्मेवारी प्रदान गरिएको छ । दैलेखमा स्थानीय चुनावको परिणाम अनुसार माओवादी कमजोर देखिएको छ । नयाँ पार्टी घोषणा सँगै जिल्लामा संगठन बिस्तार गर्नुपर्ने अवस्था भएमा प्रचण्ड नेपाल पक्षले जिल्ला अध्यक्ष माधव नेपाल निकटका नेताहरुले पाउने आँकडा गरिएको छ ।
विभाजनपछि
जोगिएला साख ?
दैलेखमा दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश निर्वाचन क्षेत्र र ११ वटा स्थानीय तह छ । स्थानीय तहको निर्वाचनमा नेकपाकै उम्मेदवारहरूले धेरै तहमा जीत हासिल गरेका छन् ।
पार्टी विभाजन भएर चुनावमा गए दुवै पक्षको हार हुने आँकडा गरिएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकामा तत्कालिन एमालेका उमेदवारले २७ सय ७३ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवारले २६ सय ७० मत प्राप्त गरेका थिए । उतिवेलाको चुनावमा प्राप्त मतपरिणामलाई केलाउँदा नेकपा पार्टी विभाजनपछि निर्वाचन हुँदा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गर्ने निश्चित जस्तै देखिन्छ ।
आठबीस नगरपालिकामा पनि उस्तै अवस्था छ । उक्त नगरपालिकामा पूर्व एमालेका उम्मेदवारले जीत हासिल गरेका हुन् । एमालेका उम्मेदवारले ३९ सय २७ मत प्राप्त गरी विजयी भएका थिए । कांग्रेसले ३८ सय ८० मत प्राप्त गरेको थियो । उक्त नगरपालिकामा पनि माओवादी केन्द्र पहिलेदेखि नै कमजोर रहीआएको थियो ।
ठाँटीकाँध गाउँपालिकामा पूर्व एमाले, माओवादी र कांग्रेसको जनमत केही हदसम्म तल–माथि देखिएको थियो । एमालेले १९ सय २४, कांग्रेसले १५ सय ६२ र नेकपा माओवादी केन्द्रले १३ सय ६ मत प्राप्त गरेको थियो ।
भैरवी गाउँपालिकामा पनि पार्टी विभाजन भएको खण्डमा आउँदा निर्वाचनमा कांग्रेसको पक्षमा जनमत प्राप्त हुने देखिन्छ । यो गाउँपालिकामा पूर्व एमालेले ३५ सय ६४ मत प्राप्त गरी विजयी भएको थियो ।
कांग्रेसले पनि एमालेलाई पछ्याउँदै ३ हजार ७७ मत प्राप्त गरेको थियो । पूर्व माओवादी केन्द्रले भने ३ सय १ मत प्राप्त गरेको थियो । महावु गाउँपालिकामा पनि स्थानीय तहको निर्वाचनमा पूर्व एमालेको सरका सञ्चालनमा रहेको छ । एमाले उक्त स्थानीय तहमा ३५ सय २२ मत प्राप्त गरी विजयी भएको थियो ।
कांग्रेसले एमालेलाई पछ्याउँदै २ हजार ९ सय मत प्राप्त गरेको थियो । पूर्व माओवादी केन्द्रले ७ सय ३३ मत प्राप्त गरेको देखिन्छ । यसअघि बाँडिएको मत परिणाम हेर्दा नेकपा विभाजन पछिको निर्वाचनमा कांग्रेसले दैलेखका सबै स्थानीय तह, प्रदेश सांसदमा समेत धक्का पुग्ने देखिन्छ । संघीय सांसदका लागि भने प्रभावशाली नेताहरुको कडा प्रतिश्पर्धा हुन सक्ने आंकलन सुरु भएको छ ।
नारायण नगरपालिकामा पनि पूर्व एमाले विजयी भएको हो । एमालेले ४७ सय २५ मत प्राप्त गरेको थियो भने उसलाई पछ्याउँदै कांग्रेसले ४४ सय ५१ मत हात पारेको थियो । पूर्व माओवादी केन्द्रको पोल्टामा नारायणमा ३ सय ९९ मत मात्रै खसेको थियो ।
भगवतीमाई गाउँपालिकामा पनि पूर्व एमाले विजयी भएको थियो । एमालेले २३ सय २९ मत र कांग्रेसले १८ सय ८९ मत प्राप्त गरेको थियो । पूर्व माओवादी केन्द्रले १६ सय ७२ मत प्राप्त गरेको थियो ।
अन्तिममा चुनावी एलाइन्सको सम्भावना उत्तिकै
झगडा धेरै नगरेकै राम्रो
दुबै पक्षको बिवाद मिलाउने भन्दै तेस्रो शक्तिका रुपमा रहेका बामदेव गौतम अहिले स्वातन्त्र बस्नु, देशैभर दुबै पक्ष एक्लाएक्लै लड्दा कहीपनि जीत हात नपर्ने बिश्लेषण धेरै नेताहरुले गरेको पाइन्छ । चुनावको अन्तिम अवस्थामा पुनः दुई पक्ष मिलेर चुनावमा जानुपर्ने अवस्था आउन सक्ने आंकलन पनि उत्तिकै भएकोले एकले अर्कोलाई जथाभावी गाली गलौज नगर्ने इमान्दार कार्यकर्ताहरुले नेताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार